Uddar

निराशा भित्रको निकास -भरत ढकाल



निराशा भित्रको निकास -भरत ढकाल

-२०४६ सालको राजनीतिक परिवर्तनले मूलुकलाई दलदलमा फसाउँदै लगे संगै ०६२/६३ को परिवर्तन पछि स्थापित व्यवस्था र त्यसमा भएका साशकीय स्वरूपले निम्त्याएका घटनाक्रमले हाम्रो देशमा बिद्यमान बहुदलीय व्यवस्थाको धज्जी उँडाएको छ । स्थापित राजनितिक दलहरूका बीचमा भएका अत्यन्त निकृष्ट, अशोभनीय र सत्ता केन्द्रित गठबन्धनले प्रष्ठ पारेको छ कि काँग्रेस (सेर बहादुर) र माओबादी (प्रचण्ड) सहित अन्य दक्षिण पन्थीहरूलाई दक्षिण छिमेक र महाशक्ति रास्ट्र सहितका पश्चिमाहरूले हमेसा नचाइरहन्छन् र यिनीहरूले चाहेर पनि तीनका इशारा बेगर पाईला चाल्न सक्दैनन् । तीनका आदेशको नजरन्दाज गर्दाको एकाध मूल्य चुकाइसकेका यिनीहरूका लागी थप नजरन्दाजका आगामी दिनहरू अत्यन्त महँगो पर्नेकुरा राम्रोसंग बुझेका छन् त्यसैले सदा निरिह रहीरहने छन् ।

अर्कातीर, बिगतमा आफ्नै उग्र राजनीतिक स्वभावले गलत देखीएका साथै विदेशीद्वारा समेत प्रयोग भएका तरपनि जीवनको उत्तरार्धमा आत्मग्लानिका साथ पछुतो महशुस गरी रास्ट्रबादी मार्ग अवलम्बन गरेका केपी ओली भने एकाध साना पार्टीहरूको साथ लिएर उत्तर छिमेक सहित अन्य शक्तिहरूको आड भरोसामा बागडोर हातमा लिएर मूलुक बनाउने दिवा स्वप्नमा मग्न छन् । त्यसैगरी बिसौलीमै अड्केका ससाना पार्टीहरू पनी आआफ्नै सोच र मार्गचित्रका बिस्कुन सुकाउने काम गरीरहेकै छन् । यसप्रकार हाम्रा स्वाधीनता र सार्वभौमता माथी खुल्ला विदेशी हस्तक्षेप सहितका वर्तमान परिदृश्यका साथ मूलुक अघि बढ्दै जाने हो भने आगामी भविष्यमा मूलुकमा निम्तन सक्ने घटना नेपालीको आँकलन भन्दा धेरै भयानक हुनेछ र अन्ततोगत्वा यसले नेपाल भन्ने देशनै बिलिन हुने अवस्थाको सृजना गर्नेछ ।

ठुला दल र नेतृत्वहरूको नालायकीपनले गर्दा बिषम परिस्थितिबाट गुज्रिरहेको मूलुकको यस्तो कहालिलाग्दो अवस्थामा पनि आसन्न निर्वाचनको जनमतलाई आधार मान्दा “लाटो देशको गाँडो तन्नेरी” बन्नसक्ने अन्तिम अवसर अझैपनि देखिन्छ केपी ओलीमा । साँच्चै यदी केपी ओलीलाई राज्यकोशको खर्चले भएको उपचार मार्फत बोनसमा पाएको आफ्नो सरिरको भन्दा बढी राज्यको चिन्ता छ भने मूलुकको हितलाई मात्र केन्द्रमा राखेर आफ्ना आन्तरिक र बाह्य शक्तिहरूको साथ सहयोगको भरपूर सुनिश्चितता गरी बिल्कुल बुद्धिमत्तापूर्ण ढंगले अघी बढ्न सक्नु पर्दछ उनले । यसका लागी संघीयता र गणतन्त्र बिरोधि तमाम शक्तिहरूको नेतृत्वगरी घनीभूत सामूहिक छलफल चलाएर, कठिबद्धताका साथ अन्तिम पटक सडक तताउँदै गणतन्त्र, संघियता अनि धर्म निरपेक्षतालाई जरै समेत उखेलेर फाल्न सक्नू पर्दछ ।

त्यसपछी कुनै विदेशीको सल्लाह बेगर, कसैसंग आग्रह पूर्वाग्रह नराखीकन कांग्रेस, माओबादी, मधेसबादी सहित सबै पक्षधरका बिच गोलमेच बैठक गराई सारा नेपालीलाई चित्त बुझ्दो, अपरिक्षित अनि निष्कलँकित सहित गरिमामय इतिहास बोकेको सँस्थाकै प्रतिनिधि भित्रको तरोताजा अनुहारलाई संविधान भित्रको आलँकारिक राजा बनाउनु पर्दछ । दुई दलिय राजनीतिक व्यवस्था सहितको पूर्ण समानुपातिक संसद, कार्यकारी अधिकार प्राप्त प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अधिकार सम्पन्न साथै उत्तरदायी स्थानीय स्वायत्त शासन प्रणाली रहने व्यबस्था कायम गर्ने बाटोमा सहमति जुटाएर निर्वाचनको मिति तय गरेर अघी बढ्नु पर्दछ । तठस्थ एवं स्थिर पररास्ट्र नीति कायम गर्नुपर्दछ । आन्तरिक र बाह्य पर्यटनको यथेष्ट प्रवर्धन सहित  कृषिमा व्यापक आधुनिकिकरणका साथ कृषक मैत्री कार्यक्रम लागु गर्नु पर्दछ । जातीयताको आधारमा कायम भएको आरक्षणलाई तत्काल बर्गियतामा रूपान्तरण गर्नु पर्दछ । कम्तिमा एक घर एक रोजगारको अवधारणालाई अविलम्ब अघी बढाएर विदेश पलायनको क्रम रोक्नु पर्दछ ।

स्वास्थ्य र शिक्षा जस्ता नैसर्गिक क्षेत्रको ब्यापारीकरण तत्काल बन्द गर्नु पर्दछ । शैक्षिक बेरोजगारको यथोचित व्यवस्थापन गरिनु पर्दछ । बन्द भएका तमाम् उद्योग एवं कलकारखानालाई पुनर्जीवित पार्नु पर्दछ । ऊर्जाको शक्तिलाई राम्रोसंग पहिल्याएर मूलुकलाई आत्मनिर्भर पार्नु पर्दछ र अन्तमा भ्रष्टाचार, बलात्कार र रास्ट्रघात सहित अख्तियारको दुरूपयोग जस्ता जघन्य अपराधमा सुन्य शहनशिलता अपनाउने कानुन अविलम्ब अवलम्बन गर्नु पर्दछ । यति गर्न सक्ने हो भने आगामी ५ वर्ष भित्रमा नेपालले आफ्नो काया पलट गर्नसक्ने छ र बिश्व जगतमा नेपालीको सान, मान र अस्तित्व बर्करार रहने छ अन्यथा ढिलो छिटो एकादेशको कथामा सीमित हुनेछ हाम्रो देश नेपाल, अस्तु !

-भरत ढकाल
त्रिपुरासुन्दरी -२ धादिङ

mrbharatdhakal@gmail.com

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?