काठमाडौं-
राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म दिइएको छ।
आयोगले आज नै अपराह्न ३ बजेदेखि ४ बजेभित्रमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। फागुन १४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उम्मेदवारले नाम फिर्ता लिन चाहे फागुन १६ गते पाउनेछन्। उम्मेदवारको अन्तिम नामावली पनि फागुन १६ गते नै प्रकाशित गर्ने तयारी छ।
निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन्।
एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ।
उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि उम्मेदवारको भने टुंगो लागेको छैन। उम्मेदवार चयन गर्न दलहरुले आजै बैठक राखेका छन्। नेपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार आज टुंगो लगाउने भएको छ। यसका लागि बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेसमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको राष्ट्रपतिमा दाबी छ। केही नेताले सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्नुपर्ने धारणा पनि राख्दै आएका छन्।
राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको पनि सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। राष्ट्रपतिमा उम्मेदवारी दिनेरनदिने वा कसलाई उम्मेदवार बनाउने बैठकले निर्णय गर्नेछ।