Uddar

चिकित्सक दम्पती, गायिका, पत्रकार र युवा गिटारिस्ट पनि बिलाए सेती खोंचमा



चिकित्सक दम्पती, गायिका, पत्रकार र युवा गिटारिस्ट पनि बिलाए सेती खोंचमा

मृतकको विवरण नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको छ। केही यात्रुको सनाखत पनि भइसकेको छ। शव स‌ंकलनपछि सबैको सनाखत गरिने र सोमबार बिहानदेखि आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ।

मृत्यु हुनेमा गायिका, पत्रकार, चिकित्सक दम्पती र एकजना युवा गिटारिस्ट पनि छन्।

विमानमा राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सक दम्पती पनि परेको खुलेको छ। अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र छोरीको दुर्घटनामा मृत्यु भएको छ।  ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार सुशील शनिबारसम्म ड्युटी गरेर आजबाट छुट्टीमा थिए। श्रेष्ठले हिजो र अस्ति थप समय काम गरेर अस्पतालबाट बिदा मिलाएका थिए। उनीहरुको घर नै पोखरा भएकाले छुट्टी मनाउनका लागि सानो बच्चाका साथ पोखरा गएका थिए।

सोही विमानमा यात्रारत दोहोरी गायिका निरा छन्त्यालको पनि मृत्यु भएको छ। उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि गएकी थिइन्। उनले चार घण्टा अगाडिमात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्तिको शुभकामना दिएकी थिइन्। यसैगरी हिजो उनले ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी थिइन्। गायिका छन्त्याल लाइभ दोहोरीमा चलेकी कलाकार हुन्।

गायिका निरा छन्त्यालले २ दिनअघि सामाजिक सञ्जालमा आमाले देखेको सपना पूरा गर्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन्। उनले आफूलाई जन्मदिने बाबुआमा र साथ दिने सबैलाई सम्झिएकी थिइन्। आमाको कोख र बुवाको काखले गर्व गर्न सक्ने काम गर्न पाएकोमा खुशी लागेको बताएकी थिइन्।

२०५७ सालमा बाग्लुङको सिसापानीमा जन्मिएकी निरा सानैबाट गीत गाउँथिन्। गायिका बनेर पहिचान बनाउने उद्देय बोकेर ६ वर्षअघि काठमाडौं आएकी निराले लाइभ दोहोरीमा छुट्टै पहिचान बनाएकी थिइन्।

काठमाडौं पसेका सुरुवाती दिनमा संघर्ष गरेकी निरा पछिल्लो समय स्टेज कार्यक्रमदेखि लाइभ दोहोरीमा व्यस्त थिइन्। सफलताको ग्राफ निरन्तर बढिरहेकै बेला निरा देश तथा विदेशमा हुने कार्यक्रममा व्यस्त थिइन्। लामो समय परिवारसँग बस्न नपाएकी निराले आइतबार बिहान पनि आमालाई फोन गरेर छिट्टै भेट्ने वाचा गर्दै विमान चढेकी थिइन्।

दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको पुष्टि भएको छ। सुरक्षाकर्मीले घटनास्थलबाट उनको परिचयपत्र पनि फेला पारेका छन्।  उनको शवको सनाखत भइसकेको छ। प्रहरीले पहिचानको लागि उनको शवलाई ‘बडी नम्बर ५३’ उल्लेख गरेको छ।

दुर्घटनाग्रस्त जहाजमा पत्रकार पौडेल रहेको बिहानै खुलेको थियो। उनी सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका नेता पनि थिए। उनी दुई दशकदेखि पत्रकारितामा संलग्न थिए। उनी नेपाल पत्रकार महासंघमा केन्द्रीय सदस्य पनि थिए। उनले यसअघि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेका छन्। उनी पोखराबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं आएका थिए।

नेपाल पत्रकार महासंघले पौडेलको निधनमा शोक व्यक्त गरेको छ। महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

युवा पुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको पनि आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको छ। रक गायक तथा अभिनेता रविन तामाङ, अभया सुब्बा, रक ब्याण्ड मंकी टेम्पलसहित उनका फ्यानले सामाजिक सञ्जालमा आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पोखरा घर भएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन्। उनको लोकप्रियता युटयुब र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ। उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड छ भने उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका छन्। मुलुकको चर्चित रक ब्याण्ड मंकी टेम्पलले निशान्तलाई अद्भूत गिटारिस्ट भएको जनाएको छ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?