मुक्तक -१
गरौँ प्रेम चोखो र आस्था जगाऊ ।
लिई चन्द्र सुर्यै ध्वजा फर्फराऊ ।।
नहुन् कोहि वैरी बनुन् इष्ट मित्र ।
जहाँ नै पुगे देश सम्झेर आउ ।।
मुक्तक -२
डराउनु परेको छ आफ्नै बा दाजुको आगनसँग ।
कसरी बच्नु झन् त्यो पापी व्यभिचारी दुसासनसँग ।।
निन्द्रामा पनि तर्सिएर चिच्याउदै सानी छोरी भन्छे ।
मलाई मुक्ती दिनुहोस् आमा यो नारीको जीवनसँग ।।
मुक्तक ( ३
कति सधैं टाढा बस्छौ तिमि नसर न पर कान्छा ।
भेट्न आउन गार्हो भयो यतै बसाइँ सर कान्छा ।।
लुकाएर किन राख्छौ कलिलो त्यो बैँस पोको पारी ।
म पात भई थापिदिन्छु शीत बनेर झर कान्छा ।।
मुक्तक -४
सजिलै बदलिदिन्छु भन्नुहुन्छ जुत्ता मन नपरे ।
भन्नुहोस् न के गर्नुहुन्छ आफ्नै खुट्टा मन नपरे ।।
हर रात श्रीमती र ओछ्यान फेर्ने ओ महोदय ।
मैले फेर्न हुन्छ कि हुन्न आफ्नो डुङ्गा मन नपरे ?
मुक्तक -५
सुन्दर तिम्रो मेरो घर बनाउनै नहुने हो र ?
बनाऊँ न एउटै थर बनाउनै नहुने हो र ?
धन नभए पनि सिंगो मन त छदै छ नी सानू।
के गरिबले कुनै रहर बनाउनै नहुने हो र ?
– सुमित्रा सुमी
नुवाकोट ।