Uddar

पिठुवा दुग्ध प्रशोधन तथा विविधिकरण उप-आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न



पिठुवा दुग्ध प्रशोधन तथा विविधिकरण उप-आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

रत्ननगर –

रत्ननगर नगरपालिका वडा नं १६ पिठुवामा रहेको पिठुवा दुग्ध उत्पादक सहकारीले सुरु गरेको दुध प्रशोधन तथा विविधिकरण उपआयोजनाको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सहकारीले दुध उत्पादन वृद्धि र बजारीकरणको लागि दुध प्रशोधन तथा विविधिकरण उपआयोजना सञ्चालन गरेको हो । कृृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाको सहयोगमा उपआयोजना सञ्चालन गरिएको सहकारीले जनाएको छ ।

सो उपआयोजना अन्तर्गत प्याकेज दुध, दही, पनिर, खुवा, नौनीघ्यू लगायतका दुधको परिकार बनाउन उद्योग सञ्चालन गरिने उपआयोजना सञ्चालन तथा व्यवस्थापक समितिका संयोजक गंगाराम गुरुङले जानकारी दिए । सो उपआयोजना सञ्चालनको लागि ९९ लाख ९५ हजार २६४ रुपैया लगानी गरिएको छ । लगानी रकम मध्ये ५० प्रतिशत नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना ३० प्रतिशत सेन्चुरी बैंकको ऋण लगानी र र २० प्रतिशत सहकारीले लगानी गरेको गुरुङले जानकारी दिए ।

उपआयोजना सञ्चालनको लागि २०७९ भदौं २४ गते आयोजनासंग सम्झौता भएको थियो । सहकारीले उत्पादन गर्ने दुग्धजन्य पदार्थको विक्रीका लागि स्थानिय बजारमा संचालित डेरी पसल, मिनीमार्केट, सुपरमार्केटहरु संग सम्झौता गर्ने संयोजक गुरुङले बताए । दुधको परिकार बनाउने उद्योग सञ्चालन भएपछि सहकारीको सेवा क्षेत्र भित्रका ५०० परिवारको करिब २ हजार किसान लाभाम्वित हुने गुरुङले बताए । डेरीमा संकलित दुध अन्य ठुला डेरीहरुलाई विक्री गर्दा प्राप्त हुने रकम भन्दा डेरी आफैले दुग्ध परिकार उत्पादन गरेर विक्री गर्दा किसानलाई झन्डै दश प्रतिशत बढी रकम लाभ हुने उनले बताए । त्यस्तै उप(आयोजना संचालन भएपछी केहि रोजगारी सिर्जना हुने र परिकार विक्रीवितरण पश्चात सहकारीका शेयर सदस्यहरुलाई वितरण हुने वोनस रकममा पनि बढोत्तरी हुने उनको भनाई छ ।

सो सहकारीले दुध तथा दुग्धजन्य पदार्थको उत्पादन तथा विविधिकरण र बजारिकरणका लागि आयोजना संग सम्झौता भए अनुुसार पूर्वाधार निर्माण गरि शनिबार सार्वजनिक सुनुवाई गरि जानकारी गराएको हो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापाले उपआयोजनाले दुधको उत्पादन बृद्धि र बजारीकरणको लागि सहज हुने बताए । उनले किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थको उपभोग गरि किसानलाई प्रोत्साहन गर्न आग्रह गर्दै आफुले पनि सहकारीले उत्पादन गरेको दुग्धजन्य पदार्थ उपभोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

पिठूवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रि प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख शालिकराम पौडेल, जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका सचिव किशोर बगाले लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा मन्तव्य राख्दै बगालेले उधोग स्थापना गर्नु ठुलो उपलब्धी नभएको भन्दै यस उद्योग बाट उत्पादित दुग्ध परिकारको बजारीकरण मुख्य विषय भएको बताए । दुग्धजन्य पदार्थको उपभोग वृद्धिको लागी सबै एकजुट हुनुपर्ने उनको तर्क छ । सार्वजनिक सुनुवाई कार्यक्रम संस्थाका सचिव रामचन्द्र दवाडीले संचालन गरेका थिए ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?