Uddar

लघुकथा : शाश्वत सत्य



लघुकथा : शाश्वत सत्य

लघुकथा : शाश्वत सत्य
—धनराज गिरी
—– आउनुहोस् ,म आज तपाईंहरूलाई द्वापरयुगतिर लैजान्छु।यो त्यो युगको कथा हो जतिखेर द्रौपदी जन्मेकी थिइन्। म समय,म एक कवि,जहाँ रवि पनि पुग्दैनन्,त्यहाँ पुग्छ कवि। द्वारिका,कान्हा र दाउको वार्ताबाट कथा आरम्भ हुन्छ।कथा यस्तो छ,
—–
” दाउ,अब हाम्रा वैरीहरू सारा परास्त भए,हामीले एक मित्र मिलन समारोह राख्नुपर्छ।नत्र हामीलाई हाम्रा बालसखाहरू ” आफ्नो धरातल बिर्सिएको आरोप लगाउने छन्” दाइको राय के छ।?आगे हजुरको मर्जी? ” कृष्ण उर्फ देवकीननदन उर्फ कान्हा! ” अरे कान्हा,तिम्रो परमादेश मानेको छु।दाउ दाउ भनेर मलाई भाउ दिए पनि यो दुनियाँको बाउ त तिमी नै हौ।त्रेता युगमा भाइ भएर यो युगमा दाइ भएर साथ दिएको न हो।तिम्रो लीला त राई बूढाले लेख्ने हो।भन सम्पूर्ण धरावासीहरू बोलाएर लीला गर्ने हो कि?गीता जस्तो अमर रचना आफ्नो प्यारो अर्जुनलाई सुनाएर मनमा शीतल समीरको प्रवेश गरायौ।बरू यो भन कलियुगमा,त्यो उत्तर आधुनिक युगमा,मेरो गोविन्द गोबर्धनधारी कुन अवतारमा हुने हो,र मेरो भूमिका के हुन्छ?जान्न मन लाग्यो।जनता जान्न चाहन्छन्! “
” दाउ,कलियुगमा हामी यमुना वारिपारि। म यायावर हुनेछु।हाम्रो भेट ढिलो हुनेछ। हजुरले त मलाई चिनेर ” कान्हा ” भन्नुहुनेछ,तर म हजुरलाई चिनेर पनि न चिन्न विवश हुनेछु,जरासन्धले यस्तै गर्नेछ।यो नन्दलाल ,मायाजालमा पर्नेछ।धेरै कुरा उल्टो हुनेछ दाउ,रामको पिताश्री लक्ष्मण हुनेछ त्यो युगमा!धेरै उल्टो ।म त्यतिखेर विवश भएको अभिनय गर्नेछु।हजुर हृदयले कुबेर,तर जोगी मानिने,कथा सबै अहिले न भन्दा राम्रो।लव कुशको मावली नै मेरो ससुराली हुनेछ,तर सीताजी मेरी भाभीश्री!खैर,मित्र मिलन गराउने है,सुदामाको बढी नियास्रो लागेको छ।जोक सुन्ने!”
——
योजना बन्यो। तिहार आउनु अघिको जुवाको रात आउनुअघिको पूर्ण इन्दुको दिन भेला बोलाइयो। सुदामा पनि आयो।धेरै साथीहरू ,मथुरा,गोकुल,हस्तिनापुर,पान्चालबाट आए। ” मित्र सुदामाको जोक सुन्ने।” बलरामको प्रस्ताव। सबैले ताली बजाए। कृष्णको इशारा पाएपछि सुदामाले एघार जोक्स सुनायो।तर जुन स्तरको ठहकाको अपेक्षा गरिएको थियो,त्यो आएन। मिलन सकियो।
—-
” कान्हा,किन सुदामाको जोक्स सुनेर कोही पनि मन फुकाएर खिल्खिलाएन?किन?म पनि बिर्सेछु हाँस्न!किन कान्हा?जोक्स त राम्रा थिए,ओर्ग्यानिक!”
” दाउ,हजुर आज पनि सोझो,कलियुगमा सोझो भएर दुःख पाउने पक्का,यो दुनियाँमा,हरेक युगमा, यो शाश्वत सत्य,परम् सत्य,दीनहीन गरीबको जोक्समा को हाँस्छ त दाउ?Only riches jokes make laugh!कुरा सरल र सत्य हो दाउ!गरीबको लागि न न्याय हुन्छ दुनियाँमा,न साथ दिने मान्छे!त्यही भएर बैकुण्ठ छोडेर पटकपटक मान्छेको अवतार लिन विवश हामी!मैले निम्नस्तरको जोक भनेको भए हलमा ठहका हुने थियो।”
” यो सब गल्ती ब्रह्माजीको,किन मान्छे बनाएको होला?”
” हामीले लीला गर्न!” कथा सकियो।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?